काठमाडौं । गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उप–निर्वाचन नेकपा एमालेको बृहत भेला काठमाडौमा सम्पन्न भएको छ । नेकपा एमाले गौरीशंकर–काठमाडौं पालिका सम्पर्क मञ्चको आयोजनामा गौरीशंकरका स्थायी मतदाता र उम्मेदवार बीच परिचय र भेटघाट गर्ने उद्धेश्यले बृहत आयोजना गरेको हो ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट गौरीशंकर गाउपालिकामा उपाध्यक्ष पदका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले काठमाडौंमा वसोवास गर्ने गौरीशंकरका मतदाताहरुसंग भेटघाट गरी उम्मेदवारबारे छलफल गरी विजयी गराउन आह्वान गर्नु भएको छ । उहाँले गौरीशंकरवासी बीच आयोजना गरेको बृहत भेलालाई सम्वोधन गर्नुहुदै जितपछि आफु निरन्तर पालिकामै वसेर सेवामा लागि रहने संकल्प गर्नुभयो ।
उहाँले हालका जनप्रतिनिधीहरु कार्यलयमा नवस्ने र नागरिकलाई दुःख दिने गुनासो रहेको र आफु उपाध्यक्षमा निर्वाचित भए पछि सुख दुःख जुनसुकै वेला सहज तरिकाले आफुलाई भेट्न सकिने उहाँले बताउनु भयो । नेकपा एमालेको नेतृत्व विना संवृद्ध गौरिशंकर निर्माण गर्ने सपना पुरा नहुने हुँदा निर्धक भएर आफुलाई मतदान गर्न उहाँले आग्रह गर्नु भयो । आफु विकृती र विसंगतीको विरुद्ध लड्दै आएको र पालिकाको हरेक गतिविधीहरु पारर्दशीताको काम गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले वागमती प्रदेशका इन्चार्ज राजन भटराई, पोलिटव्युरो सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङ, पोलिटव्युरो सदस्य आनन्द पोखरेल, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगाएत नेताहरुले सम्वोधन गर्नुभएको थियो । नेताहरुले दोलखाको गौरीशंकरमा हुने उपनिर्वाचनमा केन्द्रित हुन जिल्ला पार्टीपंतिका सबै तहका कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।