काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् । मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा गरेको फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको हो ।
मनाङेलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । २०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन नामका अर्का गुन्डा नाइके मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ बर्ष कैद तोकेको थियो ।
मनाङेले मुद्धामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २६ महिना जेल बस्नुपर्ने भएको छ । यसका साथै उनको प्रदेश सांसद पद पनि खारेज हुने भएको छ ।