काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । रास्वपा सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले मंगलबार अनुमति दिएको हो ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मङ्गलबारमात्र लामिछानेलाई अदालत लगिएको थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा कास्कीको सूर्यदर्शन सहकारीबाट अवैध रुपमा रकम लगी हिनामिना भएको आरोप छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न थप २५ दिन हिरासतमा राख्ने अनुमति माग गरिएको थियो । लामिछानेको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै बयान सकिएकाले रिहा गर्न माग गरेको थिए ।
सहकारी पीडितको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखी अनुसन्धान गर्नुपर्नेमा जोड दिएको थिए । लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहनुभएका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि १० दिन म्याद थप गरिएको छ ।