काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आम आदमी पार्टीका राष्ट्रिय संयोजक समेत रहेका मुख्यमन्त्री केजरीवालले दिउँसो पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गर्नु भएको हो ।
केजरीवालले राजीनामा दिएपछि आफू जनतामा जाने र समर्थनका लागि आह्वान गर्ने बताउनु भएको छ । मदिरा नीति घोटाला प्रकरणमा करिब ६ महिना जेलमा बिताएर दुई दिनअघि मात्रै सर्वोच्चको आदेशले जमानतमा रिहा हुनुभएका केजरीवालले आश्चर्यजनक रुपमा राजीनामा दिने घोषणा गर्नु भयो ।
उहाँले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताउनुभएको छ । यदि जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाण पत्र हुने उहाँले बताउनुभयो ।
जनताले आफ्नो निर्णय नदिएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म हरेक घर र गल्लीमा जान्छु तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।”
मुख्यमन्त्री केजरीवाल शुक्रबार राति तिहाड जेलबाट छुटेपछि शनिबार पार्टीका वरिष्ठ नेताहरूसँग बैठक गर्नुभएको र आइतबार पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो ।
सर्वोच्च अदालतले दिल्लीको कथित मदिरा नीति प्रकरणसँग सम्बन्धित भ्रष्टाचारको मुद्दामा उहाँलाई जमानत दिएको केही घण्टापछि शुक्रबार साँझ उहाँ तिहाड जेलबाट रिहा हुनुभएको थियो ।